काँग्रेस रामेछापको विवाद चरमोत्कर्षमाः सभापतिको तानाशाही प्रवृत्तिका विरुद्धमा लाग्न सचिवको अपिल

रामेछाप । नेपाली काँग्रेस रामेछापको आन्तरिक विवाद चरमोत्कर्षमा पुगेको छ ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको १४औँ अधिवेशनबाट पार्टी सभापतिमा पुर्णबहादुर तामाङ कान्छाराम निर्वाचित हुनु भएको थियो । त्यस यता सभापति कान्छारामलाई लिएर काँग्रेसभित्र पटक–पटक विवाद उत्पन्न हुँदै आएको छ । पछिल्लो समय काँग्रेसभित्र कहिले कार्यक्रममा आशनग्रहण गराउने विषयमा कुरा नमिल्दा कुटाकुट र भागदौड नै मच्चिने गरेको छ भने कहिले नेतृत्वको कार्यशैलीलाई लिएर चर्को विरोधसमेत हुने गरेको छ । अहिले फेरी नेतृत्वको कार्यशैलीलाई लिएर सिर्जना भएको विवाद पुनः सतहमा आएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापका सचिव दिपक खड्काले औपचारिक रुपमै प्रेस विज्ञप्ति निकालेर सभापति पुर्णहादुर तामाङ (कान्छाराम) को तानाशाही प्रवृत्तिका विरुद्धमा उत्रिन आह्वानसमेत गर्नु भएको छ ।

सचिव खड्काले आइतबार एक विज्ञप्ति जारी गर्दै सभापतिको तानाशाही र अराजक प्रवृत्तिका विरुद्धमा एकजुट भई लाग्न काँग्रेस शुभचिन्तकहरुलाई आह्वान गर्नु भएको छ । खड्काले जारी गर्नु भएको विज्ञप्तिमा भनिएको छ,‘ सभापति मा. पूर्णबहादुर तामाङ (कान्छाराम)ले विना सल्लाह एकलौटी ढङ्गबाट काम गर्ने र सचिवको अधिकार भित्रको कार्यमा हस्तक्षेप गरी अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको मर्यादामा समेत असर पर्ने कार्य गरी एकलौटी तवरबाट आफू सभापति हुने वित्तिकै पार्टको सबै कार्य गर्ने आफैँ भएको महशुस गरी पार्टी विधान विपरित तानाशाही प्रवृत्तिका साथ अघि बढेको हुँदा उक्त प्रवृत्तिको विरुद्धमा सम्पूर्ण काँग्रेस शुभचिन्तकहरुलाई एकजुट भई तानाशाही कार्यका विरुद्धमा लाग्न अनुरोध गर्दछु ।’

पार्टीभित्र उब्जिएका विवाद र समस्या समाधानका विषयमा गम्भीर रुपमा छलफल गरी पार्टीलाई एक ढिक्का रुपमा अघि बढाउने प्रतिबद्धता सभापतिले सार्वजनिक नगरेसम्म सभापतिको उपस्थितिमा हुने सबै कार्यक्रममा अवरोध जनाउने सचिव खड्काले बताउनुभयो । सभापति कान्छारामको उपस्थितिमा १११औँ वि.पि. जयन्तीको अवसरमा यही भदौँ २४ गते सोमबार हुने कार्यक्रममा समेत विद्रोहका नारासहित विभिन्न विरोधका कार्यक्रम सञ्चालन गरिने सचिव खड्काले चेतावनी दिनुभयो । उक्त विरोधको अभियानमा सरिक भएर पार्टीलाई अराजक व्यक्तिबाट जोगाई विधानसम्मत अगाडि बढाएर पार्टीलाई जोगाउने कुरामा सहयोग गरिदिन काँग्रेस शुभचिन्तकलाई सचिव खड्काले अपिल गर्नु भएको छ ।

सभापति तामाङ अहिले उर्जा जलस्रोत तथा सिँचाई राज्यमन्त्री समेत हुनुहुन्छ ।

© 2024 khabarprasaran.com : Developed by :- jagaran Sanchar Nepal