उर्जा राज्यमन्त्री कान्छारामको विरोधमा आफ्नै पार्टी सचिव खड्काले देखाए कालो झण्डा

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापका सभापति एवम् उर्जा जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)का विरुद्धमा आफ्नै पार्टी सचिव उत्रिएका छन् ।

१११औँ वि.पी.जयन्तीका अवसरमा सोमबार सदरमुकाम मन्थलीमा आयोजित कार्यक्रममा सहभागि हुन आइपुग्नु भएका उर्जा राज्यमन्त्री तामाङका विरुद्धमा अवरोध जनाउँदै काँगे्रस जिल्ला कार्य समिति रामेछापका सचिव दिपक खड्काले कालो झण्डा देखाएर विरोध जनाउनु भएको हो । पार्टीको पूर्वनिर्धारित कार्यक्रमअनुसार राज्यमन्त्री तामाङले सोमबार बिहान मन्थलीस्थित वि.पी.को शालिकमा माल्यार्पण गरी विभिन्न अस्पतालहरुमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरिरहनु भएको थियो ।

तामाकोशी अस्पताल र दिलश्री मेडिकल हलमा उपचाररत बिरामीलाई फलफूल वितरण गरी रामेछाप सामुदायिक अस्पतालमा आउनु भएका उर्जा राज्यमन्त्रीलाई काँग्रेस रामेछापका सचिव खड्काले एक्कासी कालो झण्डा देखाएर विरोध जनाउनुभयो । कालो झण्डा देखाउने क्रममा देवकोटा चोक क्षेत्रमा केहिबेर तनावको स्थिति सिर्जना भयो । त्यसपछि पूर्वनिर्धारित कार्यक्रमअनुसार उर्जा राज्यमन्त्री तामाङले रामेछाप सामुदायिक अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गर्न सक्नु भएन ।

यसअघि आइतबार सचिव खड्काले एक प्रेस विज्ञप्ति जारी गर्दै सभापति कान्छारामले आफ्नो तानाशाही र अराजक प्रवृत्ति नसच्याए विभिन्न विरोधका कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिनुभएको थियो ।

© 2024 khabarprasaran.com : Developed by :- jagaran Sanchar Nepal