रामेछाप बालेरो दुर्घटनाः १ महिला वडा सदस्यको मृत्यु, ६ घाइते

रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीस्थित भदौरेमा बोलेरो दुर्घटना हुँदा एक जना महिला वडा सदस्यको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
मन्थलीबाट सालुतर्फ जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो गाडी आइतबार दिउँसो १ बजे मन्थली नगरपालिका–५ सुनारपानीस्थित भदौरे डाँडामा दुर्घटना भएको थियो । दुर्घटनामा मन्थली नगरपालिका–४ सालुकी वडा सदस्य ६० वर्षीय पदममाया नेपालीको मृत्यु भएको हो । मृतक नेपालीको शव पोष्टमार्टमको लागि मन्थली अस्पताल लगिएको छ । मृतक वडा सदस्य नेपाली गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट वडा सदस्यमा निर्वाचित हुनु भएको थियो ।
घाइते हुनेहरुमा मन्थली नगरपालिका–४ सालुकी ३४ वर्षीया सीता नेपाली, २५ वर्षीया सुजिता रसाइली, ६९ वर्षीय दिलिप कुमार बरुवाल, बोलेरो चालक ४२ वर्षीय गुणकुमार थापामगर, २५ वर्षीया सरिता नेपाली र ५ महिनाकी बालिका रोनिसा नेपाली रहेका छन् ।
घाइते मध्ये चालक गुणकुमार थापामगर र दिलिप बरुवालको अवस्था गम्भीर रहेको जिल्ला प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका २ जनालाई थप उपचारका लागि काठमाडौँ लगिएको छ भने ४ जना घाइतेहरुको मन्थलीस्थित विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
चालसहित ७ जना सवार बोलेरो अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ । प्रहरीकाअनुसार बोलेरो सडकबाट करिब १५० मिटर तल खसेको थियो ।

यता मन्थली नगरपालिकाले वडा सदस्य पदममाया नेपालीको मृत्यु शोकमा अत्यावश्यक बाहेकका सबै सेवा प्रवाह भोलि एक दिन बन्द गर्ने भएको छ ।
आफ्नो ४ नं. वडाको निर्वाचित दलित महिला वडा सदस्य नेपालीको मृत्यु शोकमा भोलि (सोमबार) नगरपालिका, नगर कार्यापालिकाको कार्यालय र अन्तर्गतका वडा कार्यालयहरुबाट हुने अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द हुने नगरपालिकाले जनाएको हो ।
नगरपालिकाको उपसचिव हेमन्त बुढाथोकीको हस्ताक्षरमा जारी पत्रमा भनिएको छ,‘यस नगरपालिका वडा नं.४ को निर्वाचित दलित महिला वडा सदस्य श्री पदममाया नेपालीको यही मिति २०८१ साल असोज ६ गते आइतबारका दिन मन्थली नगरपालिकाबाट वडा नं. ४ सालु जानेक्रममा मन्थली नगरपालिकाकै वडा नं. ५ सुनारपानीको भदौरे मोड भन्ने स्थानमा बोलेरो गाडी दुर्घटनामा परी परी दुःखद निदन भएकोले भोलि मिति २०८१ असोज ७ गते सोमबारका दिन यस मन्थली नगरपालिका, नगर कार्यपालिकाको कार्यालय र अन्तर्गतका वडा कार्यालयहरुबाट हुने अन्त्यावश्क सेवा वाहेकका सवै सेवाहरु वन्द हुने व्यहोरा सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

© 2024 khabarprasaran.com : Developed by :- jagaran Sanchar Nepal