काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमालेले संविधान संशोधनलाई सरकार परिवर्तनको बहानाका रुपमा प्रयोग गरेको आरोप लगाउनु भएको छ ।
संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आइएसएसआर) को संयुक्त आयोजनामा सोमबार भएको ‘संविधान कार्यान्वयनः अपेक्षा र वास्तविकता’ विषयक कार्यक्रममा अध्यक्ष दाहालले यस्तो आरोप लगाउनु भएको हो । संविधान संशोधन कांग्रेस र एमालेको एजेण्डा नै नभएको भन्दै उहाँले सरकार फेरबदलका लागि बाहाना नपाएपछि संविधान संशोधनको एजेण्डा फ्याँकेको आरोप लगाउनुभयो ।
‘नयाँ गठबन्धन बनाउनुभन्दा दुई चार दिनअघिसम्म उहाँहरुले औपचारिकरुपमा कतै संविधान संशोधनको आवश्यकतामाथि छलफल गर्नुभएको थिएन,’ अध्यक्ष दाहालले भन्नभुयो, ‘त्यसैले यो उहाँहरुको एजेण्डा होइन, कथा र बहाना मात्रै हो । सरकार परिवर्तनको हतियार मात्रै बनाइएको हो भन्ने प्रष्ट छ ।’
वर्तमान संविधान शान्ति सम्झौताको अंग भएकाले शान्ति सम्झौताको हस्ताक्षरकर्ता दल र नेतासँग नै लुकाएर संविधान संशोधनको सहमति गर्नुको कुनै राजनीतिक अर्थ नभएको अध्यक्ष दाहालले बताउनुभयो । उहाँले भन्नुभयो,‘कांग्रेस एमालेका नेताहरुले आफ्नै पार्टीसँग पनि लुकाएर सम्झौता गर्नुभयो, जनतालाई पनि लुकाएर राखियो तर जनताले सम्झौता देखाउन चुनौती दिन थालेपछि प्रधानमन्त्रीजीले संसद्मा पढेर त सुनाउनुभयो तर त्यो पनि सक्कली हो कि नक्कली, अझै हस्ताक्षर देखिएको छैन ।’