मन्थली–चरिकोट–काठमाडौँ सडक भोलिदेखि सुचारु हुनेः किर्नेटारस्थित वैकल्पिक सडक निर्माणको काम सुरु

रामेछाप । रामेछापको सदरमुकाम मन्थली–चरिकोट–काठमाडौँ सडक सुचारु गर्ने गरी आजबाट किर्नेटारस्थित वैकल्पिक सडक निर्माणको काम सुरु भएको छ ।
गत बिहिबार रातिदेखि शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण तामाकोशी र सुनकोशी नदीमा भीषण बाढी आएको थियो । सुनकोशी नदीमा आएको बाढीले रामेछाप–सिन्धुली जोड्ने खुर्कोटमा रहेको मोटरेवल पुल बगाएको थियो भने तामाकोशी नदीले रामेछाप–दोलखा जोड्ने सडक खण्डअन्तर्गत किर्नेटारमा करिब ४ सय मिटर सडक कटान गरी बगाएको थियो । त्यसको विकल्पमा बाइपास सडक निर्माण गरी सडक सुचारु गर्ने सहमति भएको छ । त्यसैगरी विपी मार्गअन्तर्गत नेपालथोक आसपास क्षेत्र र अन्य क्षेत्रमा समेत रोशी खोलाले सडक बगाएको थियो । जसले गर्दा अहिले रामेछाप–काठमाडौँ आवतजावत ठप्प छ ।

अब खुर्कोटमा पुल नबन्दासम्म सिधैँ मन्थली–चरिकोट–काठमाडौँ सडक सुचारु हुने भएको छ । त्यसका लागि बाढीले कटान गरेको किर्नेटार हाइड्रोपावर क्षेत्रअन्तर्गतको सडकको विकल्पमा हाइड्रो क्षेत्र भित्रबाटै वैकल्पिक सडक निर्माण गर्ने गरी हिजो दोलखा र रामेछापका राजनीति दलका प्रतिनिधि, समन्वय प्रमुख, नगर प्रमुख, स्थानीय जनप्रतिनिध र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच सहमति जुटेको थियो । त्यसलगत्तै आजबाट वैकल्पिक सडक निर्माणको काम सुरु भइसकेको जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताउनुभयो । सडक निर्माणको काम आजै सम्पन्न हुने र भोलिबाटै सडक सुचारु हुने उहाँको भनाई छ ।

© 2024 khabarprasaran.com : Developed by :- jagaran Sanchar Nepal