रामेछाप । रामेछाप–काठमाडौँ यातायात सेवा भोलि (बिहिबार(देखि नियमित रुपमा सञ्चालनमा आउने भएको छ ।
गत बिहिबार रातिदेखि शुरु भई शनिबारसम्म परेको अविरल वर्षाका कारण तामाकोशी र सुनकोशी नदीमा भीषण बाढी आएको थियो । सुनकोशी नदीमा आएको बाढीले खुर्कोटको मोटरेवल पुल बगाएको थियो । जसले गर्दा वि.पी.मार्ग हुँदै काठमाडौँ जोड्ने खुर्कोटको मोटरेवल पुल बाढीले बगाएसँगै काठमाडौँ–रामेछापको यातायात सेवा ठप्प छ । रामेछाप–सिन्धुली वि.पी. मार्ग हुँदै काठमाडौँ जोड्ने वैकल्पिक पुलको रुपमा सित्खामा रहेको पक्की पुल भए पनि नेपालथोक आसपास क्षेत्र र अन्य क्षेत्रमा समेत रोशी खोलामा आएको बाढीले सडक बगाएपछि यातायात सेवा हालसम्म यातायात सेवा ठप्प छ ।
यस्तै काठमाडौँ–रामेछाप जोड्ने वैकल्पिक सडकको रुपमा रहेको मन्थली–चरिकोट–काठमाडौँ सडक खण्डअन्तर्गतको किर्नेटारस्थित हाइड्रोपावर क्षेत्रको सडक तामाकोशी नदीमा आएको बाढीले बगाएसँगै रामेछाप–काठमाडौँ सडक यातायात सेवा पनि पूर्ण रुपमा ठप्प थियो । तर किर्नेटारमा बाढीले बगाएको सडकको विकल्पमा आज बिहानदेखि शुरु भएको वैकल्पिक सडक निर्माणको काम सम्पन्न भएसँगै भोलि (बिहिबार) देखि मन्थली–चरिकोट–काठमाडौँ यातायात सेवा नियमित रुपमा सञ्चालनमा आउने भएको हो । यसअघि यातायात व्यवसायीले मन्थली–वि.पी.मार्ग हुँदै काठमाडौँसम्मको भाडा ७ सय रुपैयाँसम्म लिइँदै आएका थिए । अब खुकोर्ट पुल बगाएसँगै रामेछापका नागरिकले मन्थलीसम्मको भाडा ९५४ रुपैयाँ तिर्नु पर्नेछ । पहिलेको तुलनामा रामेछापका नागरिकले मन्थलीदेखि काठमाडौँसम्मको साविक भाडा दरको तुलनमा २५४ रुपैयाँ बढी तिर्नु पर्नेछ ।
भोलि (बिहिबार)बाट नियमित बस सेवा सञ्चालनका लागि मन्थली–चरिकोट–काठमाडौँको टिकेट काटिसकिएको पूर्व अरनिको यातायात प्रा.लि. रामेछापका इञ्चार्ज सुवास फुयाँलले बताउनुभयो । अहिले चरिकोट–काठमाडौँको भाडा दर ६५४ रुपैयाँ रहेको र त्यसमा ३ सय रुपैयाँ थप भई मन्थली–काठमाडौँको भाडा दर अब ९५४ रुपैयाँ निर्धारण गरिएको फुयाँलले बताउनुभयो ।