बाढीले तोडेको खुर्कोट पुल जोडियोः ३/४ दिनभित्र सञ्चालनमा आउने

रामेछाप । केही समय अगाडि सुनकोशी नदीमा आएको बाढीले बगाएको रामेछाप र सिन्धुलीलाई जोड्ने खुर्कोट पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

असोज ११ र १२ गते गरी दुई दिनसम्म परेको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले दुई जिल्लालाई जोड्ने खुर्कोटको बेलिब्रिज पुलको करिब आधा भाग तोडेर बगाएको थियो । बाढीले तोडेको पुल जडानको काम भने बिहिबार सम्पन्न भएको हो । बेलिब्रिज जडानको काम सम्पन्न भएको र पुलको नडबोल्ड कस्ने लगायतको काम बाँकी रहेको सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नं.७ का वडा अध्यक्ष रेगनराज थापाले बताउनुभयो । पुल जडानको काम सकिएपनि पुलको सतहमा काठ राख्ने कि ढलान गर्ने भन्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो । काठ राखेर चलाउँदा भोलिबाटै सञ्चालनमा आउन सक्ने र ढलान गर्दा अझैँ तीन/चार दिन लाग्ने थापाको भनाई छ । पुलको स्यालप राखी सकिएको उल्लेख गर्दै उहाँले अहिले नडबोल्डहरु कस्ने लगायतका कामहरु भइरहेको बताउनुभयो ।

वडा अध्यक्ष थापाले भन्नुभयो,‘पुलको जोड्ने काम सम्पन्न भएको छ । बिचको सेटिङका काम गर्दै हुनुहुन्छ । यो पुलको साइजचाहिँ बेलिब्रिज भएको हुनाले त्यसको बराबर हुँदो रहिनछ । वारि र पारी नै पुरानो पुलमाथि यो पुल राखेर चलाउनु पर्ने भाको हुनाले वारि र पारि पटी चाहिँ ¥याम बनाउनुपर्ने रहेछ । त्यो ¥याम बनाउने कुरामा चाहिँ कङ्क्रिट बनाउने कि काठबाट बनाउने भन्ने विषयमा आर्मीहरु बिचमा आन्तरिक छलफल भइरहेको छ । अब काठबाट जडान हुने भयो भने भोलि दिउँसोदेखि बेलकासम्ममा पुल सञ्चालनमा आउँछ । अब हैन सिमेण्टी, रडबाट बनाउने भयो भने चाहिँ अझैँ तीन दिन पुल चल्दैन ।’

पहिलेको भन्दा पुल केही फरक हुने पनि उहाँले बताउनुभयो । ‘पुल जोड्ने काम सम्पन्न भयो वारि र पारी टेकेको छ, बिचमा प्यानल पनि हालिसकेको छ, उहाँले भन्नुभयो, यानलहरु चाहिँ कस्ने क्रममा छ । सबै नडबोल्डहरु पहिले गरेको र अहिले गरेको एक पटक रिचेक गर्नुपर्ने भएकोले रिचेकको कामचाहिँ अहिले धमाधम सुरुवात भइरहेको छ । वारिपट्टी ५ फिट भित्र पुल माथि बसेको हुन्छ, अनि पारी पटीको पहिलेको पुलको लेबलबाट पनि तीन फिट माथि बसेको हुन्छ । तीन फिट माथि चढ्ने चाहिँ स्लोपमा ¥याम बनाउनु पर्ने हुन्छ । पहिलेको चाहिँ माथि टप भित्रैबाट चाहिँ गाडी गुड्ने हुन्थ्यो भने अहिले चाहिँ दुई साँइडमा झोलुङ्गे पुलको जस्तो बार हुन्छ । बारचाहिँ फलामको तीन लाइनको भएको हुन्छ र त्यसैमा पुल झुण्डिएको हुन्छ । त्यो बार मान्छेको हाइट बराबरको हुन्छ ।’

यता जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानले पनि पुल निर्माणको काम सम्पन्न भइनसकेको भन्दै बन्ने क्रम जारी रहेको बताउनुभयो । सम्पन्न भयो भनेर बाहिर आएको हल्लामा कुनै सत्यता नरहेको उहाँको भनाई थियो । २/४ दिनपछि निर्माण सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । न्यौपानेले भन्नुभयो,‘यो भन्नलाई अहिले जम्मै मान्छे पत्रकार बन्छन्, वारपार टेका टेकाएपछि ए…भइसक्यो क्यारे भनेर हल्लाखल्ल गरेका हुन्, निर्माण सम्पन्न भइसकेको छैन । दुई÷चार दिनभित्र, जे होस् तिहारअघि पुल निर्माण सकिएर सञ्चालन हुन्छ ।’

पुल बगाएसँगै अहिले रामेछाप–सिन्धुलीको सिधा सम्पर्क टुटेको छ । अहिले रामेछापबाट सवारी साधनहरु दोलखा–चरिकोट हुँदै काठमाडौँ जाने गर्दछन् । साना सवारी साधनहरु भने सित्खा हुँदै काठमाडौँ जाने पनि गरेका छन् । अब खुर्कोट पुल सञ्चालनमा आउनेबित्तिकै रामेछाप–काठमाडौँको यात्रा सहज हुनेछ ।

© 2024 khabarprasaran.com : Developed by :- jagaran Sanchar Nepal