रामेछाप–सिन्धुली जोड्ने खुर्कोटको बेलिब्रिज पुल सञ्चालनमा

रामेछाप । सुनकोशी नदीमा आएको बाढीले बगाएको रामेछाप–सिन्धुली जोड्ने खुर्कोटको बेलिब्रिज पुल आजदेखि सञ्चालनमा आएको छ ।

गत असोज ११ र १२ गते परेको भीषण वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले बगाएको रामेछाप–सिन्धुली जोड्ने खुर्कोटको बेलिब्रिज पुल पुनः सञ्चालनमा आएको हो । सुनकोशी नदीमा आएको बाढीले बेलिब्रिज पुलको रामेछापतर्फको आधा बगाएको थियो । उक्त बगाएको पुल जोड्ने कामको जिम्मा सरकारले नेपाली सेनालाई जिम्मा लगाएको थियो । सेनाले पुल निर्माणको काम सम्पन्न गरेसँगै विधिवत रुपमा मन्थली नगरपालिकाले धन्यवाद ज्ञापन गर्दै पुल सञ्चालनमा ल्याएको छ ।

बेलिब्रिजको अभावमा रामेछापका नागरिक र रामेछाप हुँदै यात्रा गर्ने ओखलढुंगाका नागरिक चर्को शुल्क तिरेर दोलखाको चरिकोट हुँदै काठमाडौँसम्मको यात्रा गर्न बाध्य थिए । अब पुल सञ्चालनमा आएसँगै सिधैँ मन्थली–खुर्कोट हुँदै वि.पी. राजमार्गबाट यात्रा गर्न पाउने छन् । पुलको भारवहन क्षमता १५ टन रहेको छ। १५ टन भन्दा बढी भारवहन क्षमता भएका सवारी साधनहरु चलाउन पाइने छैन ।

© 2024 khabarprasaran.com : Developed by :- jagaran Sanchar Nepal