दलित महिला वडा सदस्य माथि नै जातीय विभेद

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाको वडा नं. ३ कुभुकास्थलीको दलित महिला सदस्य माथि नै जातीय विभेद भएको पाइएको छ ।
फागनु २४ गते उमाकुण्ड गाउँपालिकाको वडा नं. ३ कुबुकाँस्थलीको चिर्मालुस्थित गुम्बामा आयोजित लामा गुरुको स्वागत कार्यक्रममा निम्तो मान्न पुगेकी वडा सदस्य शर्मिला नेपाली माथि जातीय विभेद भएको पाइएको हो । कार्यक्रममा सहभागी हुन गएकी वडा सदस्य नेपालीसँगै अन्य चार जना स्थानीय दलित महिलाहरु पनि गएका थिए । उनीहरु माथि पनि जातीय आधारमा भेदभाव गरिएको बताइएको छ । उमाकुण्ड गाउँपालिकाको वडा नं. ३ बस्ने अन्दाजी वर्ष ५२ की छोक्पा शेर्पाले सार्वजनिक कार्यक्रममै आफूहरु माथि जातीय आधारमा विभेद गरी अपमान गरेकी दलित महिला सदस्य शर्मिला नेपालीले बताउनुभयो । कार्यक्रममा आफूसँगै गएका भाउजु, छिमेकी दिदीहरुमाथि पनि जातीय आधारमा भेदभाव गरिएको उहाँले बताउनुभयो ।
‘वडामा चिठी आएको कारणले गर्दाखेरी म पनि त्यही निम्तो स्वीकार गर्न गुम्बामा गएको थिए, उहाँले भन्नुभयो, ‘लामा गुरुलाई स्वागत गरिसकेपछि ल खाना खाएर जानुपर्छ भन्ने भयो, अनि त्यसपछि धेरै लामो लाइन थियो । म मेरो भाउजु, मेरो छिमेकी दिदी पनि हुनुहुन्थ्यो । लाइनमा बस्दै गर्दा एक जना अन्दाजी ५० वर्षदेखि ५५ वर्षभित्रको एक जना आन्टी छोक्पा शेर्पा भन्ने आएर मलाई तपाइहरुचाहिँ यता बस्नु यो कुर्सी हालेको छ त्यता बस्नु, हामी खाना ल्याइदिन्छौँ त्यही खानु भन्नुभयो, मैले कुनै प्रतिवाद गरिन ।’
क्षेत्राधिकार बाहिरको मुद्दा मिलापत्र गराउन मेलमिलाप केन्द्रको अग्रसरता
सार्वजनिक कार्यक्रम स्थलमा स्थानीय छोक्पा शेर्पाले जातीय विभेद गरी अपमान गरेपछि शेर्पाको विरुद्ध कारबाहीको माग गर्दै दलित महिला सदस्य शर्मिला नेपाली, इन्द्र कुमारी परियार, रोषनी नेपाली, सुमित्रा दर्जी र रिया नेपाली लगायले संयुक्त रुपमा फागुन २५ गते ३ नं. वडा कार्यालय कुबुकाँस्थलीमा निवेदन दिएका थिए ।
निवेदन पत्रमा भनिएको छ,‘ मिति २०८१।११।२४ गतेको दिनको १ः३० बजेको समयमा म यस वडाको दलित महिला सदस्य शर्मिला नेपाली लगायत अन्य दलित समुदाय पनि र मलाई वडामा निम्तो पठाएको कारण लामा गुरुको स्वागत कार्यक्रममा उमाकुण्ड ३ चिमालु गुम्बामा गएको बेलामा लामा गुरुलाई स्वागत गरि खाना खानको लागि लाइनमा बसि रहेको अवस्थामा ऐ ऐ बस्ने वर्ष अन्दाजी बाउन्नको छोक्पा शेर्पाले तिमीहरु लाइनमा नबस तिमीहरुलाई खाना यही ल्याइदिन्छु तिमीहरु अरुसँग बस्न मिल्दैन भनी दलितहरुलाई मात्रै छुट्टयाएको र जातीय विभेद तथा अपमान गरेको । त्यसको भोलिपल्ट फागुन २६ गते वडाको मेलमिलाप केन्द्रले दुवै पक्षलाई बोलाएर छलफल गरी मिलापत्र गराएको थियो । स्थानीय न्यायिक समितिको मातहतमा रहेको मेलमिलाप केन्द्रलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा दफा १ र २ बाहेकका विवाद हेर्ने अधिकार छैन । तर मेलमिलाप केन्द्र विद्यमान ऐन, कानूनलाई समेत चुनौती दिँदै क्षेत्राधिकार बाहिरको जातीय भेदभाव तथा छुवाछूतको मुद्दाको समेत मिलापत्र गराएको पाइएको छ ।
जातीय विभेद तथा छुवाछूतको घटनामा मिलापत्र
सामान्यतः यस्तो प्रकृतिको सरकारवादी फौजदारी मुद्दामा मिलापत्र गर्न नपाइने कानूनी व्यवस्था छ । नेपालको संविधान, २०७२ को धारा २४ मा छुवाछूत तथा भेदभाव विरुद्धको हकको व्यवस्था छ । कुनै पनि व्यक्तिलाई उसको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा भेदभाव गर्न नपाइने संवैधानिक व्यवस्था छ । जातीय छुवाछूत तथा भेदभाव सम्बन्धी कसूर सरकारवादी फौजदारी कसूरअन्तर्गत पर्दछ । मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को अनुसूची ३ र ४ अन्तर्गतको मुद्दामा मात्र मिलापत्र गर्न पाइने कानूनी व्यवस्था छ ।
जातीय छुवाछूत तथा भेदभाव विरुद्धको मुद्दा संहिताको अनुसूची १ अन्तर्गत पर्दछ । तर उमाकुण्ड गाउँपालिकाको ३ नम्बर वडा कार्यालयले भने संविधान र कानूनको प्रतिकूल हुने गरी वडा सदस्य नै पीडित भएको जातीय विभेदको घटनालाई सामान्य मिलापत्र गरेर टुङ्ग्याएको हो । । वडाले निवेदन परेको भोलिपल्ट फागुन २६ गते आगामी दिन यस प्रकारको घटना नदाहो¥याउने सर्त राखी साक्षी रोहबरकाबीच वडा कार्यालयमा कागज गरी घटनाको मिलापत्र गराएको हो । वडाले गरेको मिलापत्रमा भनिएको छ,‘ छोक्पा शेर्पाले उमाकुण्ड गाउँपालिका चिर्मालु गुम्बाको लामा गुरुहरुको स्वागत कार्यक्रममा निमन्त्रणा भई सो कार्यक्रममा गएको अवस्थामा छोक्पा शेर्पाले जातीय भेदभाव गरी अलग्गै बसी खान बस्ने भनेकोले चित्त नबुकोले शर्मिला नेपालीलाई भनेकोमा अब आइन्द कोही कसैले पनि सामाजिक भेदभाव नहुने नगर्ने ।’

© 2025 khabarprasaran.com : Developed by :- jagaran Sanchar Nepal