
रामेछाप । सेतो गुराँस राष्ट्रिय बालविकास सेवा संस्थाले ३५ जना बाल शिक्षकहरुलाई ‘प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित निर्माणात्मक मूल्याङ्कन’ सम्बन्धी आठ दिने तालिम प्रदान गरेको छ ।
“प्रारम्भिक बालविकासमा लगानी, दिगो राष्ट्र विकासको थालनी” भन्ने मूल नाराका साथ सञ्चालन गरेको आठ दिने तालिममा रामेछापको लिखुतामाकोशी गाउँपालिकाभित्रका ३५ विद्यालयका ३५ जना बालविकास शिक्षकहरु सहभागी भएका थिए । बालविकास केन्द्रमा भर्ना भएका बालबालिकाहरुको सर्वाङ्गीण विकासको लागि विद्यालयस्तरमा गराउनुपर्ने क्रियाकलापहरुबारे बालशिक्षकलाई तालिम दिई सोही अनुसारको गतिविधि गराउन् योग्य बनाउने उद्देश्यका साथ यो तालिम सञ्चालन गरिएको लिखुतामाकोशी गाउँपालिकाको बालविकास संयोजक कोपिला भुजेलले बताउनुभयो । चैत १६ गतेदेखि शुरु भई २३ गते सम्पन्न भएको तालिम अवधिमा इसिडी पाठ्यक्रमअनुसारका गतिविधि कसरी सञ्चालन गर्ने र पाठ्यक्रमको कार्यान्वयन कसरी गराउन सकिन्छ ? भन्नेबारेमा सिकाइएको थियो ।
अहिलेसम्म यस्तो तालिम नलिएको सुनाउँदै सहभागीहरुले यो स्तरको तालिम आफूहरुले पहिलो पटक लिएको बताएका थिए । तालिमबाट धेरै कुरा सिक्ने अवसर मिलेको उनीहरुको भनाई थियो । यसअघि आफूहरुलाई इसिडी पाठ्यक्रमबारे कुनै जानकारी नभएको बताउँदै उनीहरुले आठ दिने आवासीय तालिमको क्रममा इसिडी पाठ्क्रम र पाठ्यक्रमअनुसारका क्रियाकलाप कसरी गर्ने भन्ने लगायतका बारेमा धेरै कुरा सिक्ने अवसर मिलेको सभागीहरुले बताए । सहभागीहरुले आगामी शैक्षिकसत्रबाट आफूहरुले सिकेका कुरा विद्यालयमा गएर बालबालिकालाई सिकाउने र इसिडी पाठ्यक्रमको अक्षरशः कार्यान्वय गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रशिक्षकहरु झल कुमारी कार्की र दुर्गा सिवाकोटी हुनुहुन्थ्यो । शिक्षा तथा मानव स्रोत विकास केन्द्र तथा लिखुतामाकोशी गाउँपालिकासँगको समन्वय र सहकार्य एवं चाइल्डएड नेटवर्क फाउण्डेशन र सेतो गुँरास राष्ट्रिय बालविकास सेवाको सहयोगमा सञ्चालित “इसिडी हार्मोनी विल्डिङ ब्राइट विगिनिङ इन सोलुखुम्बु र रामेछाप” परियोजनामार्फत सञ्चालन भएको कार्यक्रमको आयोजना भने सेतो गुँरास राष्ट्रिय बालविकास सेवा संस्थाले गरेको थियो ।