
रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं २ र ३ को सिमाना ठाँटीमा डबल क्यापको बोलेरो दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
बिहीबार अपराह्न मन्थली नगरपालिका–३ को एैरमबास देवी थान मन्दिरबाट फर्किँदै गरेको बा १६ च ६४७६ नम्बरको बोलेरो ठाँटीमा दुर्घटना हुँदा मन्थली नगरपालिका–२ का वर्ष ६२ का कृष्णनारायण श्रेष्ठ र अन्दाजी वर्ष १२ की भूमिका श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते हुनेहरुमा ५१ वर्षीय शेरबहादुर रोका, ५६ वर्षीय नवराज श्रेष्ठ, मन्थली नगरपालिका–२ का ६६ वर्षीय जहानदास नेपाली, मन्थली–३ का ६४ वर्षीय जगन्नाथ श्रेष्ठ, मन्थली–२ का ६८ वर्षीय होम नारायण श्रेष्ठ, मन्थली–३ का ६१ वर्षीय कालु श्रेष्ठ, मन्थली–२ का ४१ वर्षीय ठाकुर नारायण श्रेष्ठ रहेका छन् ।
त्यसैगरी मन्थली–३ का ५६ वर्षीय कृष्णबहादुर रोका, मन्थली–२ का ३६ वर्षीय मनोजकुमार श्रेष्ठ, मन्थली–२ की ८ वर्षीया तुलसा श्रेष्ठ, मन्थली–२ की २१ बर्षीया करुणा श्रेष्ठ, मन्थली–३ की १० वर्षीया नरकुमारी पाण्डे, मन्थली–३ का ५५ वर्षीय कृष्णनारायण श्रेष्ठ, मन्थली–३ का ६५ वर्षीय कैलाश नारायण श्रेष्ठ र सोही वडाका खतबहादुर पाण्डे पनि घाइते हुनुभएको छ । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । गम्भीर घाइते ४ जनालाई मन्थली अस्पतालबाट सामान्य उपचारपछि काठमाडौँ पठाइएको छ । घाइते ११ जनाको मन्थली अस्पतालमा उपचार भइरहेको बताइएको छ । दुर्घटनाको कारण भने खुल्न बाँकी छ ।