
रामेछाप । मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले शिक्षकहरुको कारण अहिले बालबालिकाहरुको शैक्षिक अधिकार हनन् हुन पुगेको बताउनु भएको छ ।
नगरपालिकाद्वरा शक्रबार आयोजित “मन्थली नगरपालिका र इसिडी मेन्टरबीचको भेटघाट तथा परिचयात्मक र समीक्षा” कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले यस्तो बताउनु भएको हो । विद्यालय नै बन्द गरेर शिक्षकहरु आन्दोलनमा जाँदा अहिले भर्ना अभियान नै प्रभावित भइरहेको बताउँदै उहाँले बालबालिकाहरु पठनपाठन गर्ने अधिकारबाट नै वञ्चित हुन पुगेका बताउनुभयो । विद्यालय नै बन्द गरेर आन्दोलनमा जाने कुरा न्योचित नभएको उल्लेख गर्दै उहाँले आन्दोलनको विरोधमा मानव अधिकारकर्मी र नागरिक समाजले बोल्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘अहिले शिक्षकहरु शैक्षिक संस्था बन्द गरेर आन्दोलनमा जाँदा बालबालिकाहरुको पढ्न पाएनन् , यो गर्नु ठिक होइन, यस विषयमा नागरिक समाज, मानव अधिकारकर्मी पनि चुप बन्दैनन् होला, उनीहरुले पनि बोल्लान् ।’
प्रारम्भिक बालविकास केन्द्रको शैक्षिक सुधारका लागि आफूहरु तयार रहेको पनि उहाँले बताउनुभयो । सेतो गुँरास राष्ट्रिय बालविकास सेवामार्फत नियुक्त भएर नगर भित्रका प्रारम्भिक बालविकास केन्द्रमा कार्यरत इसिडी मेन्टरसँगको छलफलपछि उहाँले सरकारले ल्याएको इसिडी पाठ्यक्रम लागू गराउने र न्यूनतम मापदण्ड कार्यान्वय गराउने विषयमा आफूहरु तयार रहेको बताउनुभयो । बालविकास केन्द्रमा आएका समस्यालाई समाधान गर्ने र केन्द्रको शैक्षिक सुधार गर्ने कुरामा नगरको साथ रहने पनि उहाँले बताउनुभयो ।
यसैबीच, मन्थली नगरपालिका महाशाखा प्रमुख (उपसचिव) हेमन्त बुढाथोकीले पनि शैक्षिक सुधारको लागि यो तहको छलफलको आवश्यक रहेको बताउनुभयो । इसिडी पाठ्यक्रम र मापदण्ड कार्यान्वयनका लागि नगरले सबै खाले सहयोग गर्ने उहाँले बताउनुभयो । केन्द्रमा देखिएका समस्याको हल गरेर जानको लागि यस्तो छलफल नियमित हुन आवश्यक रहेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो,‘केन्द्रमा देखिएका समस्या समाधान गरेर जाने कुरामा यस किसिमको छलफल र समीक्षा आवश्यक हुन्छ, सकिन्छ महिनामा एकचोटी गरौँ, त्यो सकिएन भने दुई महिनामा एकचोटी गरौँ राम्रो हुन्छ ।’ कार्यक्रममा सेतो गुँरासको जिल्ला परियोजना संयोजक मैया वस्नेतले संस्थाले गर्ने आगामी कार्यक्रमबारे जानकारी गराउनु भएको थियो ।
कार्यक्रमको अध्यक्षता मन्थली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत देवर्षी सापकोटाले गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण मन्थली नगरपालिका बालविकास संयोजक नवराज विश्वकर्माले गर्नु भएको थियो ।