रामेछापको गेलुमा ससुराले गरे आफ्नै बुहारीको हत्या

रामेछापको मन्थली नगरपालिका वडा नं. १२ गेलुमा ससुराले आफ्नै बुहारीको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।

गेलु सिक्राल बस्ने अन्दाजी वर्ष ६० को मटकबहादुर बुढाथोकीले खुकुरी प्रहार गरी आज आफ्नै बुहारी करिब ३० वर्षीया पवित्रा बुढाथोकीको हत्या गरेका हुन् । पवित्रा आज मात्रै काठमाडौँबाट गेलु आएकी थिइन् । आज अपरान्ह करिब ४ बजे गेलु आइपुगेकी पवित्रा माथि ससुरा मटकबहादुरले एक्कासी खुकुरी प्रहार गरी हत्या गरेका बताइएको छ ।

 खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी पवित्राको घटना स्थलमा नै मृत्यु भएको मन्थली नगरपालिका वडा नं. १२ का वडा सचिव रामहरी अधिकारीले बताउनुभयो । मृतक पवित्राको लासबाट हात काटिएको अवस्थामा केही मिटर टाढा रहेको सचिव अधिकारीले बताउनुभयो । वडा सचिव अधिकारीका अनुसार प्रहरीले घटना स्थललाई शील गरेको छ ।

बुहारीको हत्या गरेका बुढाथोकीले खुकुरीसहित खिम्ती प्रहरीमा पुगेर आत्मा समर्पण गरेका छन् । मृतक पवित्राको एउटा छोरा छन् । उनी गेलुमा हजुरबा र हजुरआमासँगै बस्दै आएका थिए । पवित्राको पति दिपेन्द्र बुढाथोकीले पनि २०८१ साउनमा आत्मा हत्या गरेका थिए ।

© 2025 khabarprasaran.com : Developed by :- jagaran Sanchar Nepal