भवन निर्माण आयोजना, रामेछापका तत्कालीन कार्यालय प्रमुख र पत्रकार टिका भट्टसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

रामेछाप । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन सहरी तथा भवन निर्माण आयोजना, रामेछापका तत्कालीन कार्यालय प्रमुखहरु र पत्रकार टिका प्रसाद भट्टसहित ६ जना विरुद्ध भ्रष्टचार सम्बन्धी आरोप पत्र दायर गरेको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना, रामेछापका तत्कालीन कार्यालय प्रमुखहरु अमर बहादुर थापा, नारायण प्रसाद भण्डारी, सुरेश कुमार वाग्ले, कार्यालयका तत्कालीन लेखा प्रमुख यमलाल बेल्वासे, सुरेश प्रसाद दाहाल र मन्थली नगर विकास समिति∕  सघन शहरी तथा भवन निर्माण आयोजनाका अस्थायी नायब सुब्बा तथा पत्रकार टिका प्रसाद भट्टसहित ६ जना विरुद्ध भ्रष्टाचार सम्बन्धी आरोप पत्र शुक्रबार अख्तियारले  विशेष अदालत काठमाडौँमा दायर गरेको हो ।

पत्रकार भट्टले  मन्थली नगर विकास समिति, कान्तिपुर पब्लिकेशन लि. साथै एकै समयमा कार्यालयमा हाजिरी गरी रामेछाप जिल्ला स्थितका अन्य कार्यालयहरु र सिन्धुली जिल्ला स्थितका कार्यालयबाट राष्ट्रसेवक कर्मचारीको आफ्नो परिचय गोप्य राखी कान्तिपुर दैनिकको पत्रकारको हैसियतामा विभिन्न कार्यालयका कार्यालय प्रमुख तथा लेखा प्रमुखहरुलाई समेत प्रभाव, दबावमा पारी  कार्यालयहरुबाट काज ∕ भ्रमण तथा बैठकमा खटिई भत्ता बापतको रकम समेत लिई गैरकानूनी लाभ प्राप्त गरेको आरोप पत्रमा उल्लेख छ ।

 पत्रकार भट्टले कमिसन बापत ३७ लाख ७१ हजार ६ सय ४०, गैर कानूनी व्यापार व्यवसायीबाट ५७ लाख २० हजार ४ सय ३० रुपैयाँ, नेपाल सरकार तथा सार्वजनिक संस्थालाई गैरकानूनी हानी पुर्याउने बदनियत गरी ३ लाख ४ हजार ६ सय ५० रुपैयाँ र सरकारी सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी १७ लाख ७ हजार ३ सय ९१ रुपैयाँ गरी १ करोड १५ लाख ४ हजार एक सय ११ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरी अख्तियारले सोही रकम बराबरको विगो मागदाबी गरेको छ ।

यसैगरी तत्कालीन आयोजना प्रमुख अमर बहादुर थापाले कमिशन लिई लिन लगाई २ लाख ७३ हजार २ सय ८५ रुपैयाँ, सरकारी सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी ६६ हजार गरी ३ लाख ३९ हजार २ सय ८५ रुपैयाँ भ्रष्टाचार गरेका छन् । अर्का तत्कालीन आयोजना प्रखुम नारायण प्रसाद भण्डारीले पनि सरकारी सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी  २० लाख ७ हजार ७ सय ७५ रुपैयाँ भ्रष्टाचार गरेका उल्लेख छ ।  तत्कालनी लेखा प्रमुख वाग्लेले पनि सरकारी सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरेर ३ लाख ९५ हजार ४ सय २० रुपैयाँ भ्रष्टाचार गरेको आरोप पत्रमा उल्लेख छ ।  यस्तै आयोजनाका तत्कालीन लेखा प्रमुख बेल्वासेले  पनि कमिशन लिई लिन लगाई २ लाख ७३ हजार २ सय ८५ रुपैयाँ र सरकारी सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी  ३ लाख १९ हजार १ सय ७५ रुपैयाँ गरी जम्मा ५ लाख ९२ हजार ४ सय ६० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको छ । अर्का तत्कालीन लेखा प्रमुख सुरेश प्रसाद दाहालले पनि सरकारी सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी  ४  लाख ७९ हजार ५ सय ५० रुपैयाँ भ्रष्टाचार गरेको आरोप पत्रमा उल्लेख छ । उनीहरुसँग अख्तियारले सोही रकम बराबरको विगो माग दाबी गरेको छ ।

© 2025 khabarprasaran.com : Developed by :- jagaran Sanchar Nepal