
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले साना दलहरुसँग आफ्नो पक्षमा उभिन आग्रह गरेका छन् ।
जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग सभापति देउवाले आफ्नो कित्तामा उभिन आग्रह गरेका हुन् । जनमतका अध्यक्ष सिके राउत, नाउपाका अध्यक्ष रेशम चौधरी र लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई आफ्नै निवास बुढानीलकण्ठ बोलाएर सहयोग मागेका हुन् ।
‘अचानक गठबन्धन भत्कियो, हामीलाई सहयोग गर्नुहोस्’, सभापति देउवाले आग्रह गरेका थिए, ‘यसले (नयाँ गठबन्धन) बहुमत पु¥याउँदैन ।’ सभापति देउवाले कुनैपनि बेला आफूले बहुमत जुटाउने भएकाले साथ मागेका थिए ।
तर जनमतका अध्यक्ष राउतले सभापति देउवालाई भ्यागुतोको धार्नीतिर नलाग्न सुझाव दिएका थिए । ‘गठबन्धन बदलिरहँदा हामीजस्तो नयाँ र सानो शक्तिलाई गाह्रो भयो’ राउतले भनेका थिए, ‘तपाईंले भ्यागुतोको धार्नीतिर नलाग्नुहोला ।’
त्यो छलफलमा सहभागी एक नेताका अनुसार, राउतले देउवालाई मुलुकलाई स्थिरताको खाँचो परेकाले सत्ताको खेल भन्दा पनि राजनीतिक स्थीरतातिर लाग्न आग्रह गरेका थिए ।
नाउपाका अध्यक्ष चौधरीले राउतकै जस्तो सुझाव दिदै नेकपा एमालेसँग मिलेर सरकार बनाउन आग्रह गरेका थिए । ‘तपाईंले सानो दलहरु मिलाइरहनु र बोक्नु भन्दा पनि ओलीजीसँग कुरा गर्नुहोस्, अस्थीरताले हामी नयाँहरुको राम्रो सन्देश गएन’, चौधरीले भनेका थिए ।