मन्त्रिपरिषद् विस्तार, गहृमा रवि, अर्थमा पुन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ ।
पुरानो सत्ता समीकरण फेरिएसँगै प्रधानमन्त्री दाहालले बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो । प्रधानमन्त्री दाहालले सोमबार शपथ लिएका ३ जना मन्त्रीको पनि जिम्मेवारी तोक्नु भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना गरी मन्त्रिपरिषद १८ सदस्यीय भएको छ ।

सरकारमा एमालेबाट रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री बन्नु भएको छ भने पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईले खानेपानी मन्त्रालय सम्हाल्नु हुने छ । यस्तै दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्नेछन् ।

नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, वर्षमान पुन अर्थमन्त्री, शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि, र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री, डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र समुना श्रेष्ठले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्नु भएको छ ।

यसैबीच, नेकपा एकीकृत समाजवादीले पनि भानुभक्त जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढालाई सहरी विकास मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।

© 2024 khabarprasaran.com : Developed by :- jagaran Sanchar Nepal