स्नातक पहिलो वर्षका करिब २ सय विद्यार्थीको उत्तरपुस्तिका त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयबाटै गायब

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (प.नि.का.) बाट परीक्षण भइसकेर नतिजा सार्वजनिक हुन बाँकी करिब २ सय विद्यार्थीको उत्तरपुस्तिका हराएको छ ।

गत वैशाखमा सञ्चालित स्नातक तह पहिलो वर्षको जनसंख्या विषयका १ सय ८३ थान उत्तरपुस्तिका परीक्षा नियन्त्रण कार्यालयबाटै गायब भएको हो । उत्तरपुस्तिका हराएपछि परीक्षा लिएको करिब एक वर्ष बित्न लागिसक्दा पनि नतिजा सार्वजनिक हुन सकेको छैन । उत्तरपुस्तिका हराएकै कारण परीक्षाको नतिजा सार्वजनिक हुन ढिलाई भएको खबर सञ्चार माध्यमहरुले जनाएका छन् ।

गत वर्ष पनि विद्यार्थीको उत्तरपुस्तिका हराएपछि प.नि.का. ले पुनः परीक्षा लिएको थियो । वि.वि.एस चौथा वर्षको एउटा विषयको उत्तरपुस्तिका फेला नपरेपछि २०७९ साल पुसमा पुनः परीक्षा सञ्चालन गरिएको थियो ।

२०७८ मा सञ्चालन भएको परीक्षाको उत्तरपुस्तिका हराएका कारण वर्षदिन पछि करिब साँढे २ सय परीक्षार्थीको पुनः परीक्षा लिएको थियो । पुनः परीक्षा लिनुको कारण भने परीक्षा नियन्त्रण कार्यालयले खुलाएको थिएन ।

© 2024 khabarprasaran.com : Developed by :- jagaran Sanchar Nepal