
रामेछाप – रामेछापको दोरम्बा शैलुङ गाउँपालिकास्थित गौश्वाराका एक वृद्ध दम्पत्तीलाई नियन्त्रणमा लिएर लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोरम्बा शैलुङ गाउँपालिका–४ का ३४ वर्षीय रोहित बहादुर थापा मगर, दोरम्बा शैलुङ गाउँपालिका–२ का २२ वर्षीय तेज बहादुर थापामगर र मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ का ४० वर्षीय खेम बहादुर राई रहेका छन् ।
मंगलबार मध्यरातमा दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ४ गौश्वारास्थित पासेवन ओख्रेनीका ८८ वर्षीय हर्क बहादुर नगरकोटी र उहाँकी पत्नी धनलक्ष्मी नगरकोटीलाई लछापछार पारी कोठाभित्र थुनेर उनीहरुले लुटपाट गरेका थिए । यसरी लुटपाट गरेका उनीहरुले वृद्ध दम्पतीको घरबाट दुई तोला सुनको गरगहना र नगद १५ हजार रुपैयाँ लुटेका थिए ।
घटनाको जानकारी पाउन जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोलीले लुटपाट गरेर भागेका तीनै जनालाई दोलखाको मागापौवाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक रञ्जनकुमार गिरीले बताउनुभयो । प्रहरी हिरासतमा रहेका तीनै जनामाथि अहिले अनुसन्धान भइरहेको बताइएको छ ।