
रामेछाप । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड जिल्ला शाखा रामेछापले सञ्चालन गरेको एक दिने ‘केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम’ सम्पन्न भएको छ ।
जिल्लाको मन्थली नगरपालिका वडा नं.४ सालुमा आयोजित एक दिने कार्यक्रम शनिबार सम्पन्न भएको हो । संस्थाले आफ्ना सदस्यहरुलाई उद्यमशील बनेर आर्थिक परनिर्भरतालाई विस्थापित गर्दै आर्थिक निर्भरतातर्फ उन्मुख कसरी बन्न सकिन्छ र दैनिक खर्चमा मितव्ययिता अपनाएर कसरी आर्थिक बचत गर्न सकिन्छ ? भन्ने लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
रामेछाप नगरपालिका वडा नं.२ देउरालीमा शाखा कार्यालय स्थापना गरी सञ्चालनमा रहेको यस संस्थाले अहिले जिल्लाका तीन स्थानीय तह रामेछाप नगरपालिका, मन्थली नगरपालिका, लिखु तामाकोशी गाउँपालिका र छिमेकी जिल्ला ओखलढुंगाको लिखु गाउँपालिकालाई आफ्नो कार्य क्षेत्र बनाउँदै आएको छ । संस्थाको रामेछाप शाखाअन्तर्गत ६ सय ५१ घर परिवार सदस्य छन् । संस्थाको केन्द्रीय कार्यालय तालिम विभागकी प्रमुख रञ्जना निरौलाका अनुसार २४ जिल्लामा १ सय ६० वटा शाखा कार्यालय स्थापना भएका छन् । हाल संस्थामा ३ लाख २५ हजार सदस्य र १ लाख ९६ हजार ऋणी सदस्य रहेका उहाँको भनाई छ । संस्थाले आफ्ना सदस्यहरुलाई विना धितो १५ प्रतिशत व्याज दरमा ऋण प्रवाह गर्दै आएको छ ।
रामेछाप शाखामार्फत अहिले संस्थाले १ करोड ऋण लगानी गरेको जीवन विकास लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृत सञ्जय कुमार मण्डलले बताउनुभयो । अध्यक्ष मण्डलकाअनुसार सदस्यहरुबाट प्राप्त बचत रकम ४० लाख रुपैयाँ संकलन भएको छ । नाफा कमाउने उद्देश्यले भन्दा पनि गरिबी निवारण र बढ्दो बेरोजगारीलाई नियन्त्रणमा सहयोग पु¥याउने गरी काम गरिरहेको उहाँले बताउनुभयो ।
यसैबीच कार्यक्रमका अतिथि वक्ता रामेछाप नगरपालिका वडा नं. २ देउरालीका वडा अध्यक्ष निरकुमार श्रेष्ठले त्रैमासिक रुपमा ऋणको व्याज बुझाउन मिल्ने व्यवस्था गर्नु पर्नेमा जोड दिनुभएको छ । वडा अध्यक्ष श्रेष्ठले मासिक तलबमा काम गर्नेले मासिक रुपमा ऋणको व्याज बुझाउन सक्ने भएपनि खेती, किसान गरेर बस्ने बुबा, आमाहरुले मासिक रुपमा ऋण बुझाउन नसक्ने भएकाले त्रैमासिक रुपमा ऋणको व्याज बुझाउने नीतिगत व्यवस्थाका लागि पहल गर्न संस्थालाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “गाउँघरको शहरमा पसल, व्यवसाय, होटल गरेर बस्ने, जागिर हुने पेशामा बस्नेले त मासिक रुपमा तिर्न सक्ला तर तरकारी खेती गर्ने, बाख्रा पाल्ने आमा, बुबा, दाजुभाई, दिदी, बहिनीहरुले मासिक रुपमा तिर्न सक्दैनन् । अन्य संस्थाले जस्तै त्रैमासि रुपमा व्याज बुझाउने व्यवस्था गर्न आग्रह गर्छु ।” उहाँले सहुलियत व्याज दरका साथमा ऋण प्रदान गर्ने गरी नीतिगत व्यवस्था गरिनुपर्नेमा समेत जोड दिनुभयो ।
कार्यक्रममा संस्थाका केन्द्र प्रमुख, ऋणी सदस्य तथा बचतकर्ताहरु सहित करिब २ सय जनाको सहभागिता रहेको थियो । उत्कृष्ट बचतकर्ता, ऋणी सदस्यहरुलाई पुरस्कृत गरिएको थियो भने सामुदायिक विद्यालयमा अध्ययनरत चार परिवारका १० जना छात्रछात्राहरुलाई छात्रवृत्ति प्रदान गरिएको जीवन विकास लघुवित्त वित्तीय संस्था लि. जिल्ला शाखा रामेछापका प्रमुख विनोद शाहले जानकारी दिनुभयो । कार्यक्रम संस्थाको केन्द्रीय कार्यालयका कार्यकारी प्रमुख अधिकृत सञ्जय कुमार मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियो ।