जातीय छुवाछूत अन्त्यका लागि घर–घरसम्म सचेतनाको अभियान चलाउनुपर्छः पूर्वमन्त्री श्रेष्ठ

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रामेछापका इञ्चार्ज श्याम कुमार श्रेष्ठ (कुशल)ले व्यवहारिक रुपमा जातीय छुवाछूत तथा भेदभाव अन्त्यका लागि तल्लो तहसम्म सचेतनाको अभियान चलाउनु पर्ने बतउानु भएको छ ।
शनिबार सदरमुकाम मन्थलीमा आयोजित नेपाल दलित मुक्ति मोर्चा जिल्ला समन्वय समिति रामेछापको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व गृहराज्य मन्त्री तथा रामेछापका इञ्चार्ज श्रेष्ठले यस्तो बताउनु भएको हो ।
दलित समुदायमाथि हुने गरेका जातीय छुवाछूत तथा विभेद अन्त्य गर्ने सवालमा बनेका संवैधानिक तथा कानूनी प्रावधानको व्यवहारिक कार्यान्वयन शतप्रतिश हुन नसकेको उहाँले बताउनुभयो । पूर्व गृहराज्य मन्त्री समेत बन्नु भएका श्रेष्ठले जातीय छुवाछूत तथा भेदभाव अन्त्यका लागि अब गाउँ, टोल, बस्ती तथा घर–घरसम्म सचेतनाका कार्यक्रम लिएर जानुपर्ने आवश्यक्ता औँल्याउनु भयो । दलित ऐक्यबद्धताले मात्रै जातीय छुवाछूत अन्त्य सम्भव नभएको उल्लेख गर्दै उहाँले यसको नेतृत्व नेकपा माओवादी पार्टीले गर्ने बताउनु भयो ।
पूर्व गृहराज्य मन्त्री श्रेष्ठले भन्नुभयो,“ गैर दलितहरुमा यो नारालाई अवार्नेसका रुपमा तलसम्म गाउँसम्म, बस्तीसम्म, टोलसम्म, घरसम्मदेखि सबैसबै क्षेत्रमा हामी पुग्नु पर्दछ । यसमा यहाँहरुको ऐक्यबद्धता मात्र होइन, समग्र मूल रुपमा माओ पार्टीको मूल नेतृत्व गर्ने नेकपा माओवादी, देशमा सधैँभरी दलितहरुको पक्षमा रहेको छ, यो दलितमा जुन प्रकारको विभेदहरु भइरहेको छ, त्यसको अन्त्यका लागि माओवादी लड्छ ।”
अहिले पनि रामेछापमा दलितसँग जोडिएका नागरिकता, छुवाछूत, सार्वजनिक स्थानमा हुने गरेका विभेद लगायतका दजनौँ केसहरु आइरहेको उहाँले बताउनुभयो । त्यसको विरुद्धमा नेकपा माओवादीको भ्रातृ संगठन दलित मुक्ति मोर्चा सधैँ उभिने उहाँको भनाई थियो ।
संविधान र कानूनी व्यवस्था बमोजिम दलित समुदायमाथि हुने गरेका जातीय छुवाछूत तथा भेदभावको अन्त्यको व्यवहारिक कार्यान्वयन शतप्रतिशत हुन नसकेको उहाँले बताउनुभयो । महिला, दलित, जनजातिका हक, अधिकारको सुनिश्चितताको लागि माओवादी लडे पनि अहिले उनीहरुले नै माओवादीलाई साथ नदिएको उहाँको भनाई थियो ।
दलित, महिला, जनजातिको हक, अधिकारको लागि माओवादी लड्यो जसको नाम महान जनयुद्ध भनियो तर आज हेर्दै जाँदा त्यो जनयुद्धले निर्माण गरेका विचार र त्यो विचारमा आबद्ध हुँदै आएका दलितका ठुला नेताहरुले नै पार्टी छोडेर हिडेका उहाँले बताउनुभयो ।
जातीय, वर्गीय रुपमा हुने गरेका छुवाछूत र विभेदको अन्त्यका लागि लडेको माओवादीलाई तिनै वर्ग र समुदायका नेताहरुले समेत साथ नदिएको उहाँले स्मरण गराउनुभयो । खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड), डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण, राम बहादुर थापा बादल लगायतका नेताहरु दलित आन्दोलनको विपक्षमा रहेको रहेको उल्लेख गर्दै उहाँले उनीहरुले अहिले माओवादी पार्टी परित्याग गरेर हिडेको बताउनुभयो ।
यसैबीच, नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष अमर विश्वकर्माले पनि आफ्ना हक अधिकारको लागि लड्ने पार्टी माओवादीलाई साथ दिन सबै दलित समुदायलाई अपिल गर्नुभयो । दलित हक, छुवाछूत तथा भेदभाव विरुद्धको हक, समानुपातिक समावेशिताको हक लगायतका हक अधिकार संविधानमा स्थापित गर्नको लागि माओवादी लडेको उल्लेख गर्दै उहाँले जातीय छुवाछूत तथा विभेदको अन्त्यको लागि माओवादी पार्टीलाई सिङ्गो दलित समुदायले साथ दिनुपर्ने उहाँले बताउनुभयो ।
बागमती प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठ (विगुल)ले छुवाछूत तथा विभेदको अन्त्य गर्ने र समानुपाति समावेशिता, संघीयता लगायको एजेण्डा माओवादी पार्टीले अघि सारेको एजेण्डा भएको बताउनुभयो । आफ्नो हक, अधिकारको लागि लड्ने पार्टीको पक्षमा आम दलित समुदाय एक हुन आवश्यक रहेको पनि उहाँले बताउनुभयो । कार्यक्रम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रामेछापका इञ्चार्ज श्याम कुमार श्रेष्ठ (कुशल) को प्रमुख आतिथ्यता र नेपाल दलित मुक्ति मोर्चा जिल्ला समन्वय समिति रामेछापका संयोजक सरोज कटुवालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

© 2025 khabarprasaran.com : Developed by :- jagaran Sanchar Nepal