आयोजना सम्पन्न भएको महिना दिन नबित्दै भत्किन थाल्यो

रामेछाप । रामेछाप नगरपालिका वडा नं. १ गोठगाउँस्थित गोठपानीमा निर्माण भएको सडक स्तरोन्नति आयोजनाको काम सम्पन्न भएको महिना दिन नबित्दै भत्किन थालेको छ ।

चालु आर्थिक वर्ष २०८०।८१ मा बाग्मती प्रदेश सरकारको स्वीकृत कार्यक्रमबाट रामेछाप नगरपालिकाको वडा नं. १ गोठपानीमा सडक स्तरोन्नतिको लागि विनियोति बजेटबाट निर्माण सम्पन्न भएको आयोजनाको महिना दिन नबित्दै मेसिनरी वाल भासिएर चर्किन र भत्किन थालेको हो । भ्याटसहित २१ लाख ७२ हजार ३३९ रुपैयाँ २५ पैसा बराबरको बजेट लागतमा आयोजना निर्माणको ठेक्का सम्झौता गरी तिल्पुङ भगवती कन्सट्रक्सन प्रा.लि.ले निर्माणको जिम्मा लिएको थियो । स्थानीयकाअनुसार अहिले आयोजनाको मेसिनरी वाल भासिएर धाजाधाजा फाटेर भत्किन थालेको छ । प्राविधिक र निर्माण व्यवसायीको मिलेमतोमा आयोजनाको गुणस्तरलाई ख्याल नगर्दा समस्या आएको हो ।

२०८० माघ ११ गतेदेखि शुरु भएको आयोजनाको काम सम्पन्न भएको महिना दिन पुग्न लागेको रामेछाप नगरपालिका वडा नं. १ गोठगाउँका स्थानीय अतुल कार्कीले बताउनुभयो । प्राविधिक र निर्माण व्यवसायीको मिलेमतोमा कमसल माल मेटेरियल प्रयोग गरेर जग राम्रोसँग नखनी वाल लगाउँदा अहिले वाल चर्किएर भत्किन थालेको स्थानीय कार्कीले बताउनुयभो । उहाँले भन्नुभयो,‘प्राविधिक र निर्माण व्यवसायीको मिलेमतोमा कमसल माल हाले, जग पनि राम्रोसँग खनेन्, जसले गर्दा सबै चर्किएर भत्किन थालेको छ, अब केही दिन पानी पर्यो भने सबै भत्किने अवस्था छ । वडा अध्यक्षलाई जानकारी गराए, वडा अध्यक्षले पनि हामीले केही गर्न मिल्दैन माथिल्लो कार्यालयले हेर्ने हो, हामी कुरा चाहिँ गर्छौँ भने ।’

रामेछाप नगरपालिका वडा नं. १ का वडा अध्यक्ष रेखबहादुर खत्रीले भने आयोजनाको काममा समस्या देखिएको बताउनुभयो । उहाँले अहिले आयोजनाको मेसिनरी वाल भासिएर चर्किएको बताउनु भएको हो । आयोजनाको दुरावस्थाबारे सम्बन्धित निकायलाई पत्रचार गर्न वडा सचिवलाई आफूले निर्देशन दिएको उहाँले जानकारी दिनुभयो । यसरी गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कारबाही गराउने कुरामा समेत पहल गर्ने वडा अध्यक्ष खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो,‘आयोजनाको वाल अग्लो छ, तीन मिटर अग्लो होला, अहिले भासिएको छ । आयोजनाको अवस्थाको बारेमा माथिल्लो निकायमा जानकारी गराउन मैले सचिवलाई पत्र लेख्नु भनिसकेको छु । तिल्पुङको रामु श्रेष्ठले गरेको काम हो, त्यसलाई पनि भनेको छु ।’

यता आयोजनाको बारेमा थप बुझ्न सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयका प्रमुखलाई फोन सम्पर्क गर्दा उहाँको फोन उठेन ।यसरी आयोजनाको गुणस्तरलाई ख्याल नगरी काम गर्ने निर्माण व्यवसायी र अनुगमनमा खटिने कर्मचारीलाई राज्यले दण्ड, जरिवाना र क्षतिपूर्ति समेत भर्नुपर्ने कानूनी व्यवस्था गर्न आवश्यक रहेको नागरिक समाजका अगुवाहरुको भनाई छ ।

© 2024 khabarprasaran.com : Developed by :- jagaran Sanchar Nepal