
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले देश अप्ठ्यारो अवस्थामा पुगेको बेला कांग्रेस– एमाले एक ठाउँमा आउने गरेको बताउनु भएको छ ।
प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै भट्टराईले विगतमा देश अप्ठ्यारोमा परेको बेलामा कांग्रेस–एमाले एक ठाउँमा आउने गरेको स्मरण गर्दै अहिले पनि त्यही अभ्यास गरेको बताउनु भएको हो ।
देश आर्थिक रुपमा संकटमा रहेको र संविधानका केही विषयलाई सुधार गरेर अगाडि जानुपर्ने परिस्थिति बनेकोले कांग्रेस–एमालेबीच सहकार्य भएको उहाँले स्पष्ट पार्नुभयो । पुष्पकमल दाहाल प्रचण्डलाई अवसर दिन आफूहरू सरकारमा लो–प्रोफाइलमा बसेर सहयोग गरेको बताउँदै उहाँले प्रधानमन्त्रीले त्यस सहयोगलाई दुरुपयोग गर्दै राष्ट्रिय सरकार बनाउन पहल सुरु गरेको आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्री प्रचण्ड अल्पमतमा रहेको बताउँदै संवैधानिक सर्वोच्चता स्वीकार गरेर राजीनामा गर्न आग्रह गर्नुभयो । ।
प्रधानमन्त्रीले विश्वास गुमाइसकेको अवस्थामा यसै संसदबाट राजीनामा गर्नु नै सही निर्णय हुने बताउँदै उनले असार २८ गते विश्वासको मत लिनुको कारण के हो ? भन्दै प्रश्न गर्नुभयो । एमाले सचिव भट्टराईले रास्वपालाई प्रधानमन्त्रीको डुंगामा किन बसेको भन्दै एक पटक सोच्न आग्रह गर्नुभयो ।