संविधानको कुरालाई नजरअन्दाज गर्नु हुँदैन :  कांग्रेस सांसद लिम्बू

काठमाडौँ । नयाँ सरकार गठनका सम्बन्धमा कांग्रेस सांसद डिगबहादुर लिम्बूले संविधानको व्यवस्थाको कुरा उठेकाले त्यसलाई नजरअन्दाज गर्न नहुने बताउनु भएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद लिम्बूले संविधान कार्यान्वयनको पक्षलाई नजरअन्दाज गर्न नहुने बताउनु भएको हो । उहाँले दलहरूबीच नयाँ सरकार गठनका लागि भएको सहमतिलाई धोकाधडी नगरीकन जानुपर्ने धारणा राख्नुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत लिनका लागि असार २८ मा प्रस्ताव राख्ने तय भएको छ । एमाले र कांग्रेसले भने प्रधानमन्त्रीले विश्वासको मत नलिई राजीनामा गर्नुपर्ने माग गर्दै आएका छन् ।

आगामी सरकारको नेतृत्व गर्ने सहमति भएको एमालेले संसदीय दलको बैठकबाट प्रधानमन्त्री पदबाट प्रधानमन्त्री दाहालले तत्काल राजीनामा गर्नुपर्ने माग गरेको छ । उक्त कुरा एमालेका नेताहरूले संसद्मा राखेपछि कांग्रेस सांसद लिम्बुले संविधानको व्यवस्था नजरअन्दाज गर्न नमिल्ने बताउनुभयो । ‘अहिले कुम जोडेर हिँडेका साथी वल्लो बेन्च, पल्लो बेन्च हुँदै गर्दाखेरि अहिले नै आत्तिइहाल्नुपर्ने अवस्था पनि लाग्दैन । त्यसकारण संयमतापूर्वक, संविधानको कुरा पनि उठेको छ, त्यसलाई पनि हामीले नजरअन्दाज गर्न सकिँदैन,’ लिम्बुले भन्नुभयो ।

इमानदारीपूर्क यो देशलाई निकास दिनुपर्ने लिम्बूको भनाइ छ । उहाँले संविधानअनुसार अगाडि बढ्ने कुरालाई गम्भीर्तापूर्वक लिनुपर्ने बताउनुभयो । सरकार अल्पमतमा परेको अवस्थामा संविधानको व्यवस्थाअनुसार विश्वासको मत लिने भएपछि त्यो बेलासम्म जनताप्रति सरकारले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो ।

© 2024 khabarprasaran.com : Developed by :- jagaran Sanchar Nepal