रामेछाप । रामेछाप नगरपालिकाले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्ने भएको छ । नगरपालिकाले ‘स्थानीय मदिरा उत्पादन, ब्रान्डिङ तथा बिक्री वितरण र व्यस्थापन सम्बन्धी ऐन नै बनाएर नगरभित्र उत्पादन हुने घरेलु मदिरालाई ब्राण्डिङ गर्न लागेको हो । नगरपालिकाले स्थानीय कच्चापदार्थ कोदो, मकै, गहुँ, धानद्वारा स्थानीय उत्पादित घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गरेर विक्री वितरण गर्न लागेको बताइएको छ । त्यसका लागि नगरपालिकाले १५औँ नगर सभाबाट ‘स्थानीय मदिरा उत्पादन, ब्रान्डिङ तथा बिक्री वितरण व्यस्थापन सम्बन्धी विध्येक, २०८१’ स्वीकृत गरिसकेको छ । तर राजपत्रमा प्रकाशन हुन बाँकी छ । राजपत्रमा प्रकाशन भएपछि स्वीकृत विध्येकले ऐनको रुप लिनेछ ।
ऐन बनेपछि कार्यविधि तयार गरेर स्थानीय उत्पादन मदिरालाई ‘ब्रान्डिङ’ गरेर बजारीकरण गरिने रामेछाप नगरपालिकाको प्रवक्तासमेत रहनु भएका वडा नं. ७ का वडा अध्यक्ष समिर कार्कीले बताउनुभयो । घरेलु मदिरा ब्रान्डिङको लागि वडा नं ७ सुकाजोरले बजेट नै विनियोजन गरेर त्यसबारेमा सम्भाव्यता अध्ययन समेत गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो ठाउँमा जे चिज राम्रो उत्पादन हुन्छ, त्यसबाट हामीले फाईदा लिनुपर्ने रहेछ । यो कुरा मैले केही वर्ष अघि घरघरमै गएर मदिरा नष्ट गरेपछि सिकेँ । त्यसैले अहिले स्थानीय उत्पादन घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गरेर बजारीकरण गर्न लागेको हो, सम्भाव्यता अध्ययन पनि गरिसकेका छौँ ।’
यसैबीच, रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले घरेलु लोकल रक्सीको बजारीकरणका लागि कार्यबिधि बन्ने क्रममा रहेको बताउँदै आगामी आर्थिक वर्षबाट काम नै शुरु गरिने बताउनुभयो । मौलिक सीप र कौशल प्रयोग गर्दै स्थानीय कच्चापदार्थबाट उत्पादित मदिरालाई बजारीकरण गर्न सके कृषि उत्पादनमा वृद्धि, रोजगारी सृजना, गरिबी न्यूनीकरण र आयातलाई प्रतिस्थापन गर्न सकिने भएकोले यस्तो नीति लिइएको उहाँको भनाई छ ।