नवलपरासी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालले जिल्ला कारागार कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्तलाई नगद १ लाख रुपैयाँ घुस रकम सहित नियन्त्रणमा लिएको छ ।
अख्तियारले कारागार प्रशासक दत्तलाई असार २३ गते आइतबार एक लाख रुपैयाँ घुस रकम र स्रोत नखुलेको पँचास हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो । सेवाग्राहीलाई काम गरे बापत पाउने सेवा सुविधा दिन सहजीकरण गरिदिने भनी घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले दत्तलाई घुस रकम र स्रोत नखुलेको रकम सहित नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता नरहरी घिमिरेले आइतबार प्रेस विज्ञप्तीमार्फत जानकारी दिनुभयो । अख्तियारको नियन्त्रणमा रहेका शाखा अधिकृत दत्तमाथि थप अनुसन्धान भइरहेको घिमिरेले बताउनुभयो ।