रामेछाप मन्थलीको कल्लेरीमा बोलेरो दुर्घटनाः १ जनाको मृत्यु, ९ जना घाइते

रामेछाप । रामेछापको मन्थली नगरपालिकाको कल्लेरीमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा मन्थली नगरपालिका–७ भटौली रोकेछापकी अन्दाजी ५५ वर्षीया मैया वि.क. रहनु भएको छ । मन्थलीबाट खाँडादेवी गाउँपालिका वडा नं.९ पिङ्खुरीतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ३९०९ नम्बरको बोलेरो मन्थली नगरपालिका–७ भटौलीस्थित कल्लेरीमा दुर्घटना हुँदा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका ९ जनालाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि मन्थली अस्पताल ल्याएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ भने ५ जनाको अवस्था सामान्य छ । प्रहरीकाअनुसार गम्भीर घाइते ४ जनालाई थप उपचारको लागि काठमाडौँ पठाइएको छ । दुर्घटनाको कारण भने खुलिसकेको छैन । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

© 2025 khabarprasaran.com : Developed by :- jagaran Sanchar Nepal