पहिरोका कारण खसेका दुईवटा बसलाई त्रिशूलीले बगायो, ६५ यात्रुको अवस्था अज्ञात

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा लेदोसहितको पहिरोको कारण दुईवटा यात्रु बस त्रिशूली नदीमा खसेको छ ।

 

पहिरोको कारण शुक्रबार बिहान काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशुलीमा खसेका हुन् । त्रिशुलीमा खसेका दुवै बस बगेको बताइएको छ । दुई वटा बसमा बसमा चालकसहित ६५ जना रहेका बताइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् ।

प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उहाँले भन्नुभयो, ’हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले समस्या भइरहेको छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।’

उहाँले ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको बताउनुभयो ।

© 2025 khabarprasaran.com : Developed by :- jagaran Sanchar Nepal