
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले त्रिशुलीमा खसेका बसमा सवार बेपत्ता यात्रुहरुको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुईवटा बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता भएको हुँदा तत्काल खोजी र प्रभावकारी उद्धारका लागि खटिन प्रधानमन्त्री प्रचण्डले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो । उहाँले देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति पनि दुःख व्यक्त गर्दै सावधानी अपनाउन आग्रह आग्रह गर्नु भएको छ ।
प्रधानमन्त्री दाहालले मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनिकरण सम्बन्धी पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्धार र रातहमा आवश्यक सहकार्य र समन्वयका लागि सङ्घीय, प्रादेशिक र स्थानीय सरकारलाई पनि अपील गर्नु भएको छ ।
आज बिहान ३ः३० बजेतिर काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूली नदीमा खसेको थियो। बसमा चालकसहित सवार करिब ६५ जना यात्रु बेपत्ता भएका छन् ।