रामेछाप । नेपाल विद्युत् प्राधिकरण रामेछाप वितरण केन्द्रले एक आर्थिक वर्षमा सयममा विद्युत् महशुल नबुझाउने निजी घरपरिवार र सरकारी संघ, संस्थाको गरी करिब ४ सय ग्राहकको विद्युत् लाइन काटेको छ ।
रामेछाप वितरण केन्द्रले गत आर्थिक वर्ष २०८०।८१ देखि हालसम्मको अवधिमा ३ सय ६० निजी घरपरिवार र १२ वटा सरकारी संघ, संस्थाको गरी जम्मा ३ सय ७२ ग्राहकको लाइन काटेको हो । समयमा विद्युत् महशुल नबुझाएकोले उनीहरुको विद्युत् लाइन काटिएको नेपाल विद्युत् प्राधिकरण रामेछाप वितरण केन्द्रले जनाएको छ । गत असारसम्म विद्यतु लाइन काटिएका ३ सय १३ निजी घरपरिवार र १२ वटा सरकारी संघ, संस्थाहरु सँग उठाउन बाँकी विद्युत् बक्यौता महशुल लिई पुनः लाइन जडान गरिएको नेपाल विद्युत् प्राधिकरण रामेछाप वितरण केन्द्रका प्रमुख दिपेन्द्र बुढाथोकीले बताउनुभयो । उहाँकाअनुसार नेपाल विद्युत प्राधिकरणको विनियम बमोजिम ९० दिनभन्दा बढी विद्युत् महशुल नतिर्ने ग्राहकहरुको लाइन काट्न पाउने प्रावधान छ । सोही प्रावधानका आधारमा उनीहरुको लाइन काटिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘हाम्रो ने.वि.प्रा.को विनियमाअनुसार चाहिँ ९० दिनभन्दा बढी विद्युत् बाँकी रह्यो भने लाइन काट्ने हो, लाइन काटेपछि उहाँले महशुल बुझाउनुहुन्छ अनि महशुल बुझाएपछि हाम्रो ७ सय ५० रुपैयाँ त्यो एउटा त्यो रि कनेक्सन, डिसकनेक्सन भन्ने चार्ज हुन्छ । त्यो रकम लिएर हामीले उहाँहरुको लाइन त्यतिखेरै जोडिहाल्छौँ । ३६० मा असारसम्म ३१३ ले तिर्नुभाथ्यो, त्यो हाम्रो ४७ जना बाँकी हुनुहुन्थ्यो । सरकारीको टोटल तिरिसक्नुभयो ।’