रामेछाप । नागरिकको भरोसाको केन्द्र बन्नुपर्ने जिल्ला अस्पताल रामेछाप राजनीतिक दाउपेच र कर्मचारीको षड्यन्त्र गर्ने थलो बन्दै गएको छ ।
जिल्ला अस्पताल रामेछाप दुर्गम तथा हिमाली जिल्लामा अवस्थित अस्पताल हो । नागरिकहरु जिल्ला अस्पताल रामेछापबाट आधारभूत गुणस्तरीय स्वास्थ्य सेवा पाउनेमा विश्वस्त छन् । तर अस्पतालभित्र मौलाएको बेथितिले नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने सपनामा तुसरापात पर्न थालेको छ । अस्पतालमा बढ्दै गएको अस्वस्थ राजनीतिक हस्तक्षेप र कर्मचारीको षड्यन्त्रले अस्पताल नै धरासयी बन्दै गएको छ ।
अस्पतालका चिकित्सकहरु अमुक एक स्वास्थ्यकर्मीको पछाडि लागेर अस्पताल प्रमुखलाई टेर्दैनन् । त्यति मात्र होइन कसरी हटाउन सकिन्छ ? भनेर विभिन्न षड्यन्त्र रचेर कर्मचारी दिन बिताउने गरेका छन् । अस्पतालका चिकित्सकहरु एकले अर्कालाई कसरी सिध्याउन सकिन्छ ? भन्ने ध्याउन्नमा छन् । अस्पतालमा राजनीति हस्तक्षेप बढेकोले समस्या भएको भन्ने सवालमा भने चिकित्सक एक मत छन् । चिकित्सकको लापरबाहीकै कारण अस्पताल भर्ना भएका एक बिरामी बालकको ज्यान गएको तथ्य अस्पतालकै चिकित्सकले बताएका छन् । उक्त तथ्यले अस्पतालमा कति लापरबाही र मनोमानी छ भन्ने कुरा छर्लङ्ग हुन्न र ? अस्पतालका केही चिकित्सकको षड्यन्त्र थाहा पाएपछि कतिपय चिकित्सक त अस्पताल बस्नै मान्दैनन् ।
षड्यन्त्र थाहा पाएपछि चिकित्स अस्पताल बस्नै मान्दैनन्
केही समयअघि अस्पताललाई कार्यक्षेत्र बनाएर आएका डा. विशाल अधिकारी पनि अस्पतालका केही चिकित्सकको गतिविधि र षड्यन्त्र देखपछि तत्काल सरुवा भएका थिए । जिल्ला अस्पताल रामेछापका निमित्त मेडिकल सुपरिटेण्डेण्टले गत जेठ १६ गते जिल्ला अस्पतालमा रामेछापमा मेडिकल सुपरिटेण्डेण्टका रुपमा आउनु भएका डा. अच्युत कुमार पौडेललाई साम, दाम, दण्ड, भेद प्रयोग गरेर यहाँबाट लखेट्नु पर्छ भनेपछि आफूहरु पनि यस अस्पतालमा बस्न नहुने निष्कर्षमा पुगेर बस्न नचाहेको डा. विशाल अधिकारीले बताउनु भएको थियो ।
डा. केशव श्रेष्ठले अस्पतालमा कार्यरत डा. मनोज कुमार यादवलाई झुटो मुद्दा लगाएर फसाउनेसम्मको प्रपञ्च बुेनेको डा.अधिकारीले बताउनुभयो । जसले गर्द यस्ता हर्कतले नैतिक रुपमा आफूहरुलाई नै भोलि सङ्कट आउन सक्ने भएकोले आफूहरु सरुवा हुन चाहेको डा. अधिकारीले बताउनुभयो । यस विषयमा बाग्मती प्रदेशका स्वास्थ्यमन्त्रीलाई समेत जानकारी गराएको तर स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले गैरजिम्मेवारीपूर्ण जफाव दिएको भन्दै उहाँले स्वास्थ्य मन्त्रीले कसैले एक हान्छ भने तपाई दुई हान्नुस् भनेर जवाफ दिएको बताउनुभयो । डा. अधिकारीले भन्नुभयो,‘बाग्मती प्रदेश स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले तपाईलाई एक हान्न आउँछ भने तपाई दुई हान्नुस् । जानुस् झगडा गर्नुस् त्यही जागिर खानुस्, नभए घरमै सुतेर बस्नुस् ।’
चिकित्सक नै जोखिममा
केही समयअघि आउनु भएका डा. विशाल अधिकारी र डा. रेशम कुमार स्याङ्तानले आफूहरुको नैतिकता र ज्यान नै जोखिममा रहेको भन्दै अस्पताललाई उजुरी नै लेखेका थिए । उनीहरुले रामेछाप जिल्ला अस्पतालमा कामकाज गर्न असहयोग भएको र नयाँ मे.सु. नियुक्ति भएदेखि पुरानो मे.सु. ले षड्यन्त्र गरि नैतिकता माथि दबाब दिने काम गरेको बताएका थिए । त्यसैले अस्पतालमा काम गर्दा नैतिक र ज्यान समेतको जोखिम हुने भएकोले अस्पतालमा काम गर्न नसकिने भनेर डा. द्वोय अधिकारी र स्याङ्तानले तत्कालीन मे.सु. डा. अच्युत पौडललाई उजुरी समेत बुझाएका थिए ।
उजुरी पत्रमा भनिएको छ,‘म डा. विशाल अधिकारी तथा रेशम कुमार स्याङ्तान अन्य कर्मचारीहरुलाई यस रामेछाप अस्पतालमा कामकाज गर्नको लागि सहयोग नगरिएको र नयाँ मेडिक सुपरटेन्डन्टको नियुक्ति भएदेखि पुरानो मे.सु. ले षड्यन्त्र गरी नैतिकता मै भ्रम छर्ने काम गरेको र मानिसकता माथि दबाब दिने काम गरेको हुनाले यस अस्पतालमा आफ्नो नैतिकता र ज्यान धन समेतको जोखिम रहेकाले यस अस्पतालमा कामकाज गर्ने वातावरण नभएको भनी डा. अच्युत पौडललाई जानकारी गराएको छु ।’
तीन महिना नपुग्दै मे.सु.को सरुवा
विभिन्न स्वार्थ समुहको दाउपेचकै कारण पछिल्लो समय जिल्ला अस्पताल रामेछापमा आएका मेडिकल सुपरिटेण्डण्टलाई तीन महिनामै सरुवा गरिएको पाइएको छ । २०८१ जेठ १६ गते जिल्ला अस्पताल रामेछापको मे.सु.को रुपमा डा.अच्युत पौडेल आउनु भएको थियो । उहाँ बालरोग विशेषज्ञ पनि हुनुहुन्छ । जिल्लामा पहिलो पटक बाल रोग विशेषज्ञको रुपमा उहाँ आउनु भएको थियो । तर उहाँको अहिले तीन महिना नपुग्दै सरुवा गरिएको छ । बाग्मती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भदौ ६ गते निर्णय गरी काभ्रपलाञ्चोक जिल्लाको मेथिनकोट अस्पतालमा सरुवा गरेको हो ।
पत्रमा भनिएको छ,‘तपाई प्रदेश सेवा निजामती सेवा ऐन, २०७९ को दफा २६ बमोजिम देहाय अनुसार सरुवा गरिएको व्यहोरा यस कार्यालयको मिति २०८१।५।६ गतेको निर्णय (प्रदेश सचिवस्तर) अनुरोध छ ।’
अस्पतालमा राजनीति हावी
जिल्ला अस्पताल रामेछापका तत्कालीन मे.सु. डा.अच्युत पौडेलले स्थानीय तह र राजनीति हावी बन्दा अस्पतालमा समस्या आएको बताउनुभयो । स्थानीय तहले आफूलाई पहिलेदेखि नै असहयोग गरेको भन्दै उहाँले स्थानीय तहको हस्तक्षेप अस्पताल माथि बढ्दै गएको बताउनुभयो । डा. पौडेलले शुरुमा आउँदा पनि अस्पतालमा हाजिर गर्न नदिने, आउनै नदिनेजस्ता गतिविधि गरेर आफूलाई असहयोग गरिएको उहाँको भनाई छ । राजनीतिक दलले चिकित्सकलाई राजनीतिक ड्राइभरको रुपमा लिन खोज्दा थप समस्या भएको उहाँले बताउनुभयो । जिल्ला अस्पताललाई काँग्रेसको हस्पिटल बनाउन खोेज्दा समस्या भएको उहाँको दाबी छ । ‘तलको एमालेको हस्पिटल र माथिको काँग्रेसको हस्पिटल भन्छन्, उहाँले भन्नुभयो ।’ समयसम्म काम गर्न दिनुपर्ने भएपनि सरुवाको पत्र आएपछि सरुवा जानु पर्ने भएकोले आफू सरुवा भएर जाने उहाँले बताउनुभयो ।
यता जिल्ला अस्पताल रामेछापका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.केशव श्रेष्ठले मे.सु. बन्न नदिनको लागि आफूमाथि राजनीतिक षड्यन्त्र भएको आरोप लगाउनुभयो । आफूले कसैलाई पनि साम, दाम, दण्ड, भेद प्रयोग गरेर लखेट्नु पर्छ नभनेको उहाँले दाबी गर्नुभयो । अस्पतालमा राजनीतिक हस्तक्षेप बढी नै भएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो,‘शिक्षा र स्वास्थ्य चाहिँ राजनीतिक हस्तक्षेपबाट फ्री हुनुपर्छ, बढी हस्तक्षेप भयो, कसैको यहाँ काम गरिदिनु पर्ने गरिदियो भने फलानोको मान्छे भन्ने, गर्देन भने फलानो पार्टी सक्काउन लाग्यो भन्ने यस्तो यो आरोप लगाएका छन् ।’
डा. विशाल अधिकारी र डा.रेशम कुमार स्याङ्तानले घर अपायक क्षेत्रमा परेकोले बस्न नचाहेर बहानाबाजी गरेर फाइदा उठान आफूमाथि झूटो आरोप लगाएको निमित्त मे.स. श्रेष्ठले बताउनुभयो । केही दिनअघि आफ्नो विरुद्धमा ९/१० जना स्वाथ्यकर्मी अरुले उचालेको भरमा डा. केशवसँग काम गर्दिन भनेर प्रशासन गएको तर पछिल्लो समय सबै मिलिसकेको निमित्त मे.सु. श्रेष्ठले बताउनुभयो ।
अस्पतालमा आन्तरिक समस्या छः प्रजिअ निरौँला
जिल्ला प्रशासन कार्यालय रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जिल्ला अस्पताल रामेछापभित्र आन्तरिक समस्या रहेको बताउनुभयो । केही दिनअघि डा.केशव श्रेष्ठसँग काम गर्न असहज भयो भनेर अस्पतालका चिकित्सकले आफूसँग गुनासो गरेका प्रजिअ निरौलाले बताउनुभयो । उहाँले भन्नुभयो,‘एकदमै धेरै पेलेको, हामीलाई मनोवैज्ञानिक त्रास दिएको, काम गर्ने वातावरण नभएको भनेर चिकित्सकले गुनासो गरेका थिए । जे भए जल्लाई भने तापनि रामेछाप अस्पतालमा समस्या छ, यो चाहिँ यसमा दुई मत छैन, यो समस्याको के हो, दीर्घकालीन समस्या समाधान खोज्नुपर्छ । ’